नेपाली

 

भ्ला.इ. लेनिन

कार्ल मार्क्सको शिक्षाको ऐतिहासिक भवितव्य (१)

'प्राभ्दा' अंक ५०, मार्च, सन् १९१३, खण्ड २३, पृष्ठ १-४
हस्ताक्षर: भ्ला.इ..
स्रोत: भ्ला. इ. लेनिन. संकलिन रचना / भाग १-४, काठमाडौं: ऐरावती प्रकाशन, २०६३
अनुवादक: राजेन्द्र मास्के (१९८१)

 

 

 

मार्क्सको शिक्षाको प्रमुख सार हो - समाजवादी समाजको निर्माताको रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको स्पष्टीकरण । के मार्क्सले आफ्नो शिक्षा प्रतिपादन गरिसक्नुभएपछि संसारभरिको घटनाक्रमले यस शिक्षाको औचित्य पुष्टि गरेको छ ?

सन् १८४४ मा मार्क्सले पहिलोपल्ट आफ्नो विचारधारा प्रस्तुत गर्नुभएको थियो । सन् १८४८ म प्रकाशित मार्क्स र एङ्गेल्सका कृति 'कम्युनिष्ट घोषणापत्र'ले पूर्ण एवम् क्रमबद्ध रूपमा यस विचारधाराको व्याख्या प्रस्तुत गरिसकेको थियो । यो कृति आजसम्म पनि वहाँको विचारधाराको उत्कृष्ट अभिव्यक्तिको रूपमा कायमै छ । यस अवधिदेखिको विश्व इतिहास स्पष्ट रूपमा तीन भागमा विभाजित हुन थाल्यो : एक, सन् १८४८ को क्रान्तिदेखि (२) पेरिस कम्युन (१८७१), (३) सम्म, दुई, पेरिस कम्युनदेखि रुसी क्रान्ति (सन् १९०५) सम्म, तीन रुसी क्रान्तिपछिको अवधि । आउनुहोस्, अब हेरौं उपरोक्त प्रत्येक युगमा मार्क्सको शिक्षाको भवितव्य कस्तो रह्यो त ?

पहिलो युगको आरम्भमा शिक्षाले आधिपत्य जमाइसकेको थिएन । समाजवादका अनगिन्ती गुट र धाराहरूमध्ये यो पनि एक थियो । त्यसताका समाजवादका त्यस्ता रुपहरूले प्रभुत्व जमाएका थिए, जो आधारभूत रूपमा हाम्रा नारोदनिकहरूसँग (४) धेरै मिल्दाजुल्दा थिए - ऐतिहासिक विकासको भौतिक आधारको अनभिज्ञता, पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका र महत्त्व केलाउने असमर्थता, प्रजातान्त्रिक सुधारहरूका बुर्जुवा सारलाई 'जनता', 'न्याय' र 'अधिकार' जस्ता विभिन्न समाजवादी देखिने शब्दहरूद्वारा ढाकछोप गर्ने प्रयास आदि नै यस अवधिको मुख्य चरित्र थियो ।

सन् १८४८ को क्रान्तिले प्राग्-मार्क्सकालीन समाजवादका यी समस्त कोलाहलपूर्ण, बहुरुपी एवम् छद्मभेषी रुपहरूमाथि प्राणघातक प्रहार गर्यो । विभिन्न राष्ट्रहरूमा भएका क्रान्तिहरूले समाजका विभिन्न वर्गहरूलाई व्यवहारिक कसौटीमा उदाङ्ग पारिदिए । सन् १८४८ को जूनमा गणतन्त्रीय बुर्जुवावर्गद्वारा पेरिसमा मजदुरहरूको हत्या भएपछि अन्तिम रूपमा यो कुरा स्पष्ट भयो कि मात्र सर्वहारावर्ग समाजवादी हुन सक्छ । कुनै पनि प्रतिक्रियावादी तत्त्वहरू भन्दा उदारवादी बुर्जुवा सर्वहाराको स्वाधीनताबाट सयौं गुना बढी तर्सेको हुन्छ । कातर उदारवादले प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्छ । सामन्ती अवशेषहरूको उन्मूलनद्वारा नै सन्तुष्ट भएका किसानहरू वर्गमान व्यवस्थाको ताँतीमा मिसिन आउँछन् र कहिलेकाहीं मात्र मजदुर जनवाद र बुर्जुवा उदारवादबीच ढुलमुल गर्दछन् । वर्गविहीन समाजवाद र वर्गविहीन राजनीतिसम्बन्धी यिनका समस्त अर्तिहरू खोक्रो वकवास सिद्ध हुन्छन् ।

पेरिस कम्युन (१८७१)ले यी बुर्जुवा सुधारहरूको विकास कत्तम पारिदियो गणतन्त्रको अर्थात् राजकीय सङ्गठनको त्यस रुपको जसमा वर्गसङ्घर्ष अधिकतम खुल्ला रूपमा अभिव्यक्त भएको हुन्छ, सुदृढताको श्रेय मात्र सर्वहारा वीरतालाई छ ।

अन्य समस्त युरोपेली राष्ट्रहरू, जहाँ यो विकासक्रम बढी अल्झिएको थियो र अझ पूरा भइसकेको थिएन, त्यही पुर्व निर्धारित पुँजीवादी समाजमा पुग्छन् । पहिलो युग (१८४८-१८७१) को अन्त्यसम्ममा, आँधीबेहरी र क्रान्तिकारीहरूले भरिएको यस युगमा, प्राग्-मार्क्सकालीन समाजवाद मर्छ । सर्वहारावर्गका स्वाधीन पार्टीहरू प्रथम इन्टरनेशनल (१८६४-१८७२) (५) र जर्मन सोसल-डेमोक्रेसी जन्मन्छन् ।

दोस्रो युग (सन् १८७२-१९०४) आफ्नो 'शान्तिपूर्ण' चरित्र, क्रान्तिहरूको अभावले गर्दा पहिलो युगभन्दा फरक हुन जान्छ । पश्चिममा बुर्जुवा क्रान्तिहरू खत्तम भइसकेका थिए । पुर्व यस्ता क्रान्तिहरूको लागि अझ कलिलै थियो । पश्चिम भावी परिवर्तनहरूको युगमा पाइला टेक्नको लागि 'शान्तिपूर्ण' तयारी गर्दैछ । जताततै सर्वहारा चरित्रका समाजवादी पार्टीहरू गठन हुन थाल्छन् र यिनीहरू पूँजीवादी संसदीय पद्धतिको उपयोग गर्न, आफ्ना दैनिक अखबारहरू, आफ्ना शैक्षिक संस्थाहरू, आफ्ना ट्रेड युनियनहरू र सहकारी संस्थाहरू स्थापना गर्न सिक्छन् । मार्क्सको शिक्षाले पूर्ण विजय हासिल गर्छ र अब यो शिक्षा व्यापक रूपमा फैलिन थाल्छ । सर्वहारावर्गको शक्ति सञ्चय र एकत्रीकरणको प्रक्रिया तथा भावी सङ्घर्षहरूको लागि तयारी गर्ने काम बिस्तारै तर दृढतासाथ अगाडि बढ्न थाल्छ ।

इतिहासको द्वन्द्ववाद नै यस्तो छ कि मार्क्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहारूलाई मार्क्सवादको मकुण्डो लाउन बाध्य गर्छ । भित्रबाट सडिसकेको उदारवादले समाजवादी अवसरवादको रूपमा आफूलाई पुनजीर्वित गर्ने प्रयास गर्न थाल्छ । महान् युद्धहरूको लागि तयारीको यस युगलाई उनीहरू सङ्घर्षबाट पछि हट्ने समय ठान्छन् । दासहरूको अवस्थामा सुधार ल्याउनको लागि पुँजीवादी दासताको विरुद्ध गरिने सङ्घर्षको सट्टा उनीहरू दासहरूलाई आफ्नो स्वाधीनताको अधिकार पाँच कौडीमा बेच्ने सल्लाह दिन्छन् । उनीहरू बडो कायरतापूर्वक "सामाजिक शान्ति" (अर्थात् दास र मालिकहरूबीचको शान्ति) कायम गर्ने पाठ पढाउँछन् र वर्गसङ्घर्षको बहिष्कार गर्ने अर्ति दिन्छन् । समाजवादी संसद्का सदस्यहरू, मजदुर आन्दोलनका विभिन्न अधिकारीहरू र "सहानुभूतिकर्ता" बुद्धिजीवीहरूबीच उनीहरूका थुप्रै हिमायतीहरू छन् ।

अझ अवसरवादीहरूले "सामाजिक शान्ति" र "जनवाद"अन्तर्गत आँधीबेहरीको अनावश्यकता जस्ता आफ्ना सिद्धान्तहरूको प्रशस्त मात्रामा प्रशंमा गर्न पनि भ्याइसकेका थिएनन्, एसियामा विश्वको महानतम आँधीबेहरीको मुहान देखापर्छ । रुसी क्रान्तिको लगत्तैपछि टर्की, फारसी र चिनियाँ (६) क्रान्तिहरू आइपुग्छन् । आज हामी यिनै आँधीबेहरी र युरोपमा यिनको "विपरीत प्रतिछाँया"को युगमा बाँचिरहेका छौं । त्यस महान् चिनियाँ क्रान्तिको भविष्य चाहे जस्तोसुकै किन नहोस्, जसको विरुद्ध आज धेरै जस्ता "सभ्य" हिंस्रक जनावरहरू आफ्दा दाह्रा किट्दै छन्, अब संसारमा कुनै त्यस्तो शक्ति छैन, जसले एसियामा पुरानो भूदासता फेरि स्थापना गर्न सकोस् अथवा एसियाली र अर्धएसियाली मुलुकहरूमा जनताद्वारा स्थापित वीरतापूर्ण जनवादको चिन्ह मेट्न सकून् ।

जनसङ्घर्षको तयारी र विकासका परिस्थितिहरूप्रति उदासीन केही शक्तिहरू युरोपमा पुँजीवादको विरुद्ध छेडिने निर्णायक लडाइँमा हुन गएको दीर्घकालीन ढिलाइले गर्दा नैराश्य र अराजकतावादको फन्दामा पर्न गएका छन् । अहिले हामी देख्दछौं, यो अराजकतावादी नैराश्य कति अदूरदर्शी र कायरतापूर्ण थियो ।

८० करोड जनसङ्ख्या भएको एसिया पनि तिनै युरोपेली आदर्शाहरूको लागि सङ्घर्षको मैदानमा उत्रिनु हाम्रो लागि नैराश्यको कारण नभएर निकै उत्साहवर्धक कुरा हुन गएको छ ।

एसियाली क्रान्तिहरूले हाम्रो अगाडि उदारवादको त्यही चरित्रहीनता र नीचता उदाङ्ग पारेका छन्, जनवादी जनताका आत्मनिर्भरताको त्यही असाधारण महत्त्वमाथि जोड् दिएका छन् र सबै प्रकारका बुर्जुवावर्गबाट सर्वहारा कति भिन्न छ भन्ने कुरा स्पष्ट पारेका छन् । युओप र एसियाको यस अनुभवपछि वर्गविहीन राजनीति र वर्गविहीन समाजवादबारे बकवास गर्नेहरूलाई पिञ्जराभित्र थुनेर कुनै अष्ट्रेलियाली केंगुरासँग प्रदर्शनीमा राख्नुपर्छ ।

एसियापछि युरोपमा पनि हलचल सुरु हुन थालेको छ, तर यो एसियाली हलचल होइन । सन् १८७२-१९०४ को 'शान्तिपूर्ण' युग सदाको लागि खत्तम भइसकेको छ । महङ्गी र ट्रष्टहरूको उत्पीडनले आर्थिक सङ्घर्षलाई अभूतपूर्व तीक्ष्णता प्रदान गरेका छन्, जसले गर्दा उदारवादद्वारा सबैभन्दा बढी भ्रेष्ट भएका बेलायती मजदुरवर्ग समेत सङ्घर्षको लागि तत्पर हुन थालेका छन् । हाम्रै आँखाअगाडि जर्मनी जस्तो "कट्टर" बुर्जुवा सामन्तवादी मुलुकमा समेत राजनैतिक सङ्कट पाक्न थालिसकेको छ । बौलठ्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो "सामाजिक शान्ति" ल्याउँदै छ, जुन बारुदको पीपाजस्तो छ । समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारावर्गको प्रौढता दिन प्रतिदिन बढ्दो छ ।

मार्क्सवादको अभ्युदयपछि विश्व इतिहासका यी तीन महान् युगहरूमध्ये प्रत्येकले मार्क्सवादको लागि नयाँ पुष्टिहरू र नयाँ विजयहरू ल्याएको छ । तर भावी ऐतिहासिक युगले सर्वहारवर्गको शिक्षाको रूपमा मार्क्सवादका लागि अझ महान् विजयहरू प्रस्तुत गर्नेछन् ।

 

 

 

 

 


 

 

ALBANIAN

ARABIC

ARMENIAN

AZERBAIJANI

BANGLA

CZECH

CHINESE

DANISH

DUTCH

FARSI

FINNISH

 

 

लेनिन
नेपाली